FAQs Complain Problems

पुथा उत्तरगङ्गा गाउँपालिकाको संक्षिप्त परिचय

पुथा उत्तरगङ्गा गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका, नगरपालिकाहरु मध्ये एक स्थानीय तह हो। नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगंगा गाउँपालिकामा साविकका रन्मा मैकोट, जाङ, तकसेरा, कोल र राङ्सी गरी जम्मा ६ वटा गा.वि.स.हरु रहेका छन्। ५६०.३४ वर्ग कि.मि. क्षेत्रफल रहेको यस पुथा उत्तरगंगा गाउँपालिकाको जनसंख्या १८९५४ रहेको छ । जसमध्ये ९४७३ जना पुरुष र ९४८१ जना महिलाको सङ्ख्या रहेको छ । यस गाउँपालिकाको जम्मा घरधुरी संख्या ३९२५ रहेको छ । यस गाउँपालिकाको पूर्वमा बाग्लुङ जिल्ला, पश्चिममा सिस्ने गाउँपालिका, उत्तरमा ढोरपाटन शिकार आरक्ष तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र पुथा उत्तरगंगा गाउँपालिकाको वडा नं १० स्थित तकसेरामा रहेको छ । स्थानीय तहको निर्वाचन - २०७३ दोस्रो चरणमा २०७४ असार १४ गते सम्पन्न भएपछि जन निर्वाचित प्रतिनिधिहरूले पद तथा गोपिनियताको सपथ लिएर पदभार ग्रहण गरिसक्नु भएको छ । १४ वटै वडा कार्यालयहरु स्थापना भई वडाध्यक्ष तथा वडासचिवले जनताको घरनजिकबाट सेवा प्रवाह गरिरहनु भएको छ । भौगोलिक हिसाबले विकटता रहेपनि पर्यटकीय हिसाबले यो गाउँपालिका निकै सम्भावना बोकेको स्थानीय तह हो ।

नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको ६० प्रतिशत भू-भाग यसै गाउँपालिका भित्रमा पर्दछ । यसका साथै यहाँ बहुमूल्य जडिबुटिहरु समेत पाइने गर्दछन् । यार्सा यहाँको बुकी पाटनमा पाईन्छ भने अन्य जडिबुटिहरु पनि यहाँ प्रशस्त मात्रामा पाईने गर्दछन् । मगर खाम भाषीहरुको बाहुल्यता रहेको यस गाउँपालिकामा सबै जातजाति र धर्म, रीतिरिवाज, संस्कृतिका मानिसहरुको बसोवास रहेको छ । रन्मामैकोट, पुपाल हिमाल, पुथा हिमाल, नर्सिङ हिमाल, चौरी हिमाल, जलपा ताल, तातोपानी डिम्मुरगैरा, तातोपानी पेल्मा, तातोपानी विर्गुम, रामाझिमा, बुकी पाटन, तकसेरा गाउँ, उत्तरगंगा नदी, खाजा झरना, माछा आउने झरना, सुनपानी गुफा आदी यस गाउँपालिकाका प्रमुख पर्यटकीय आकर्षकहरु हुन् ।